२०७६ असार १ गते २०:३५ मा प्रकाशित -चिरञ्जीवी पौडेल Onlinekhabar.com
डेढ वर्षदेखि कांग्रेस प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । अरुले गर्ने मूल्यांकन आफ्नो ठाउँमा होला । तपाईं स्वयंले चैं कस्तो महसुस गरिरहनुभएको छ ?
मैले सजिलो ठानेर यो जिम्मेवारी लिएको थिइनँ । अप्ठेरो विषयको पनि अभ्यास गर्ने र आफ्नो क्षमतावृद्धि गर्दै पार्टीलाई योगदान पुर्याउने भन्ने कोणबाट नै हेरेको हुँ । मैले जिम्मेवारी लिँदा कांग्रेस प्रतिकुल अवस्थामा थियो । प्रतिकुलताको बीचबाटै अनुकुलता सिर्जना गर्ने प्रयास गर्दै इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निभाइरहेको छु ।
कस्तो प्रतिकुलताको कुरा गर्नुभएको ?
शान्ति बहाल गर्न, संविधान जारी गर्न र चुनाव गराउन सफल भएको कांग्रेस पार्टी जनमतको कसीमा भने खरो उत्रिन सकेन । भर्खर चुनाव हारेको अवस्था थियो । एउटा फुटबल म्याचमा खेल हारेर मैदानबाहिर निस्केको टिमभित्र कस्तो माहोल हुन्छ ? स्ट्राइकरले किपरलाई भन्छ, किन बल छोडिस, समातेको भए जित्ने थियौं । किपरले स्ट्राइकरलाई भन्छ, तैंले गोल मिस गर्दा हारियो । त्यस्तै खालको माहोल कांग्रेसभित्र थियो ।
त्योबेलामा फेरि टिम स्पिरिटलाई जगाएर साझा भूमिका निर्वाह गर्नु प्रवक्ताका लागि चनौतिपूर्ण हुने नै भयो । आलोचनालाई विश्वासमा बदल्ने चुनौति थियो । राजनीतिमा चुनौतिलाई सामना गर्नु नै पर्छ, जिम्मेवारी हिच्किचाउनुहुँदैन भन्ने मेरो सोच हो ।
पत्रकारहरुबाट अनेकथरी प्रश्नको सामना गर्नुपर्ने, कहिलेकाहीँ पार्टीका अलोकप्रिय निर्णयहरुको पनि बचाऊ गर्नुपर्ने अवस्थामा कत्तिको दवाब महसुस हुन्छ ?
मलाई प्रवक्ता भएर जाँदा केही साथीहरुले भन्नुहुन्थ्यो, प्रवक्ता भनेको खासमा ‘प्रतिवन्धित वक्ता’ हो है । सतर्क भएर काम गर्नू । मैले एक–दुईवटा इस्यूमा पार्टीको संस्थागत निर्णयभन्दा फरकरुपमा पनि बोलेँ । बोल्नुपर्ने भयो । त्यस्तोबेलामा अलिकति दवाब त महसुस भइहाल्छ ।
प्रवक्ताले नै पार्टी निर्णयविपरीत बोल्न मिल्छ र ?
कांग्रेसको सौन्दर्य के छ भने यहाँ फरक मतलाई पनि अवहेलना र तिरस्कार गरिँदैन । सबैका विचारलाई स्थान दिएर अगाडि बढ्ने परम्परा भएकाले प्रवक्तालाई अलिकति सजिलो पनि छ । त्यसको अर्थ म सधैं पार्टी निर्णयलाई चुनौति दिएर बोल्छु भन्ने होइन । त्यस्तो अपवादमा हुन्छ ।
एउटा व्यक्ति विश्वप्रकाश र कांग्रेस प्रवक्ता अलग–अलग हुन् । विश्वप्रकाशले बोल्दा आवेग राख्यो भने प्रवक्ताले विवेक राख्नुपर्छ । विश्वप्रकाश हतारिन्छ भने प्रवक्ताले संयमित बन्नुपर्छ । विश्वप्रकाशले कम अध्ययन गरेर बोल्यो भने प्रवक्ताले अलि अध्ययन गरेर मात्र बोल्नुपर्छ । किनभने, प्रवक्ता विश्वप्रकाशले बोलेको कुरामा सिंगो पार्टी जिम्मेवार हुन्छ ।
तपाईं कतिबेला व्यक्ति विश्वप्रकाश र कतिबेला कांग्रेस प्रवक्ताका रुपमा आफूलाई पाउनुहुन्छ ?
यदि पार्टीको आन्तरिक वैठक-छलफल छ भने त्यहाँ म कांग्रेसको केन्द्रीय सदस्य मात्रै हुन्छु । त्यस्तोमा व्यक्ति विश्वप्रकाश जागृत हुन्छ । अनि, बाहिर सार्वजनकि रुपमा आफ्नो भनाइ राख्दाचाहिँ विश्वप्रकाश गौण हुन्छ र प्रवक्ता जागृत हुन्छ ।
प्रवक्ताले हतारिएर बोल्न मिल्दैन भन्नुभयो । तर, तपाईंले कतिपय सन्दर्भमा हतारिएर प्रक्रिया जनाउँदा चिप्लिएका घटना पनि छन् । एउटा घटना सम्झनुपर्दा जब सिके राउत सरकारसित सम्झौता गरेर राजनीतिको मूलधारमा आए, त्यतिबेला तपाईंले करिब एक घन्टाको अन्तरालमा दुईवटा ट्विट लेख्नुभयो । पहिलो ट्विटमा सम्झौताको स्वागत गर्नुभयो र दोस्रोमा आलोचना गर्नुभयो । यसरी एक घन्टाभित्रै यूटर्न लिनुपर्ने अवस्था ‘हतार’कै उपज होइन ?
ती दुवै ट्विट हतारिएर नभई सोची सम्झी गरेको हुँ । एक घन्टा होइन, २०-३० मिनेटको फरकमा होला । त्यस दिन म झापाबाट साथीको गाडीमा बाग्लुङतर्फ जाँदै थिएँ । पथलैया पुग्दा अनलाइनमा सिके राउतको समाचार पढेँ । सरसर्ती ११ बुदेँ सम्झौता पत्र पढ्दा बुँदा १ र बुँदा २ महत्वपूर्ण थिए । पहिलो बुँदालाई तपाईं विरोध गर्न सक्नुहुन्नथ्यो, किनभने त्यसमा पृथकतावादी आन्दोलन त्यागेर नेपालको संविधान र सार्वभौमिकता स्वीकार गर्ने कुरा थियो । दोस्रो बुँदा तपाईं समर्थन गर्न सक्नुहुन्नथ्यो, किनकि त्यसमा ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ बाट समस्या हल गर्ने भनिएको थियो ।
अब एउटै ट्विटमा सिंगै लेख, निवन्ध वा विज्ञप्ति त अटाउँदैन । त्यतिबेला कतिपय नेताले पनि हतारिएर गरिस् भन्नुभएको हो । तर, पछि कार्यसमितिको निर्णय पनि मेरो ट्विटकै स्पिरिटमा आयो ।
यस्ता आकस्मिक र महत्वपूर्ण घटना हुँदा पार्टी सभापतिलाई सोधेर मात्रै टिप्पणी लेख्नुहुन्छ कि आफूखुशी ?
अधिकांश विषयमा पार्टीको स्पिरिटको जगमा उभिएर धारणा बनाउने र सार्वजनिक गर्ने काम हुन्छ । कुनै विषय चर्चामा आउँदै गर्दा पार्टीको कार्यसमिति वैठक बसेर वा सभापतिज्यूलाई सोधेर मात्र प्रतिक्रिया दिने कुरा व्यवहारिक र प्रभावकारी हुँदैन । प्रवक्ताले कहिलेकाहीँ तुरुन्तै धारणा बनाउनुपर्ने हुन्छ । आखिर विचार जनेरेट गर्ने पनि त प्रवक्ताको जिम्मेवारी हो । त्यसमा मैले हेर्ने भनेको पार्टीको विचारको जग र संविधानको स्पिरिट हो । समग्रतामा आधाभन्दा बढी आफैंले सोचविचार गरेर धारणा सार्वजनिक गर्नुपर्ने अवस्था आउँछ ।
अनि, कतिपय सन्दर्भमा विषयले पनि भूमिका खेल्छ । कुनै विषयमा सभापति भन्दा पनि विज्ञसँग सल्लाह गर्नुपर्ने अवस्था आउला । कुनै विषयमा अन्य नेताहरुको सुझाव बढि प्रभावकारी होला । त्यसैले सँधै सभापतिसित नै सोध्नुपर्छ भन्ने होइन ।
आफूलाई नसोधी महत्वपूर्ण विषयमा बाहिर बोल्दा सभापतिले चित्त दुखाउनुहुन्न ?
त्यसरी बोल्नुभन्दा अगाडि सभापतिको वा पार्टी नेतृत्वको यसमा कस्तो धारणा हुन सक्छ भन्ने खालको पूर्वानुमान पनि हुन्छ ।
विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाउँदा सभापति र तपाईंका विरोधाभाषपूर्ण अभिव्यक्ति आए । बिहान भाषण गर्दा सभापति देउवाले सरकारको निर्णय ठीक छ भन्नुभयो । दिउँसो तपाईंले पत्रकार सम्मेलन गरेर विरोध गर्नुभयो । यस्तोबेला कसको अभिव्यक्तिलाई आधिकारिक मान्ने ?
विप्लवको प्रकरणमा त्यस्तो भएको हो । तर, सभापति र प्रवक्ताले के बोल्नुभयो भन्ने एउटा विषय हुँदै गर्दा महत्वपूर्णचाहिँ अन्ततः कांग्रेसले के बोल्यो भन्ने हो । मैले जे बोलेँ, त्यो विपरीतमा त पार्टी गएन । सभापतिले सरल तरिकाले भनिदिनुभएको थियो, विप्लवले यत्रो हिंसा गरिरहेको छ, उदयपुरमा मिरा कटुवालको खुट्टा काट्नुपर्यो, उदयपुरका नारायण कार्कीको खुट्टा काट्नुपरो । त्यसैले यसलाई प्रतिवन्ध गरौं सरकारले भन्छ भने विरोधका लागि विरोध किन गर्ने ? उहाँलाई लाग्यो होला । त्यसैले तत्कालिकरुपमा सकारात्मक प्रतिक्रिया दिनुभयो । पछि सच्याउनुभयो ।
तपाईंले पत्रकार सम्मेलन गर्दा सभापतिले यस्तो बोल्नुभएको छ भन्ने थाहा थिएन ?
थाहा थियो । सभापतिले बिराटनगरमा बिहान साढे ९ बजे बोल्नुभयो । मैले साढे ३ बजेतिर बोलेँ । थाहा भएरै बोलेको हुँ ।
सभापतिकै अभिव्यक्तिसित बाझिने गरी प्रवक्ताले बोल्दा पार्टी अनुशासन लाग्दैन ?
विचारमा फरक मत नै कांग्रेसको सौन्दर्य हो । सभापति र प्रवक्ताको निरन्तर दुई धारणा आयो भने अनुशासनको प्रश्न उठ्ला । दुई तीन दिनपछि त पार्टीको स्पष्ट धारणा आइहाल्यो । सभापतिले बिराटनगरमा त्यो भन्नुभयो, पछि पाल्पामा गएर निषेध गर्नु हुँदैन र वार्ताले मिलाउनुपर्छ भन्नुभयो । जम्मा दुई दिन जति मात्रै अन्योल भएको हो ।
भनेपछि सभापतिलाई पनि आफ्नै लाइनमा ल्याउन सफल हुनुभयो होइन ?
आफ्नो लाइनमा ल्याएको भन्दिनँ । उहाँले जब साथीहरुबाट विश्लेषण सुन्नुभयो, त्यसपछि कन्भिन्स हुनुभयो होला । विगतमा तत्कालीन माओवादीलाई बल प्रयोगमार्फत नियन्त्रण गर्न खोज्दा सफल नभएको अनुभव उहाँसित पनि थियो ।
तपाईंलाई आलोचकहरुले प्रवक्ता होइन, खण्डनकार भन्ने गर्छन् । तपाईको आधा समय प्रधानमन्त्री ओलीको अभिव्यक्तिहरुको खण्डन गर्दैमा बित्छ भनेर विष्णु रिमालले भन्नुभएको छ । यति धेरै नकारात्मकता किन ?
हामी सन्दर्भअनुसार आवश्यक हुने विषयमा प्रतिक्रिया दिन्छौं । म्याथको टिचरले म्याथै पढाउँछ नि । प्रवक्ताले पार्टीको नीति सिद्धान्तको वकालत गर्नुका साथै विपक्षीबाट प्रहार हुँदा बचाउ पनि गर्नुपर्छ । कांग्रेसको प्रवक्ता हुनुको नाताले त्यो मेरो जिम्मेवारी हो । कहिले कम्युनिष्ट पार्टीको नीति–सिद्धान्त र दस्तावेजलाई चिरेर बोल्नुपर्ने होला, कहिले सरकारको गलत क्रियाकलापमाथि बोल्नुपर्ने हुन्छ होला, कहिले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन पनि गर्नुपर्छ होला ।
उहाँले हामीलाई प्रहार गरिरहँदा हामी चुपचाप सहेर बस्ने त ? प्रधानमन्त्रीज्यूले ‘कांग्रेस सकियो’ भनिरहँदा हामीले सकिएको छैन त भन्न पाइयो नि । हामीले उहाँले जस्तो तितो शब्द त प्रयोग गरेका छैनौं । प्रवक्ता भएपछि विश्वप्रकाशले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरिरहँदा कहिल्यै तितो शब्द बोलेको भए देखाउनुस । प्रधानमन्त्रीले मर्यादामा बसेर बोल्नु पर्ने कि नपर्ने ? हामीले त उहाँजस्तो शालीनता नराखी बोलेका छैनौं । हामीले तार्किकरुपमा जवाफ दिएकै कुराले पनि उहाँहरुलाई अप्ठेरो लाग्छ भने बुझ्दा हुन्छ, यो उत्तर कोरिया होइन ।
शालीनता त तपाईंकै पार्टी सभापति शेरबहादुर देउवामा पनि कहाँ भेटिन्छ र ? प्रधानमन्त्री हुँदा पनि प्रश्न सोध्नेलाई गाली गरेको, थर्काएको भिडियो भाइरल भएकै हो ।
बीबीसीको कार्यक्रममा एउटा घटना भयो, अब त्यसैलाई लिएर कति उहाँलाई खेदिरहने ? एउटा कालखण्डको कुनै घटना सर्वकालसम्म आलोचनाको विषय बनिरहन सक्छ र ? म घटनाको होइन, प्रवृत्तिको कुरा गरिरहेको छु । एकाधपटक नेताहरुबाट त्यस्तो गल्ति हुन सक्छ । तर, यसले प्रवृत्तिको रुप लियो भने चिन्ताजनक हो ।
कामरेड केपी ओलीको हकमा प्रवृत्ति हो, भने सभापतिज्यूको हकमा घटना हो । सभापतिजयूले त्यस्तै खालको व्यवहार गरेको अर्को कुनै घटना भए देखाउनुस् ।
पत्रकारसित जंगिने र थर्काउने त बारम्बार गर्नुहुन्छ । हरेकजसो अन्तरवार्तामा एकपटक झोक्किनुभएकै हुन्छ । अस्ति भर्खरै पनि त एउटा भिडियो आएको थियो । त्यसमा उहाँलाई मेडिकल कलेजसम्वन्धी प्रश्न सोधिँदा पत्रकारमाथि कसरी खनिनुभयो, हेर्नुभएन ?
त्यो उहाँको शैली हो । हरेक नेताको शैली र स्वाभाव आफ्नो–आफ्नो हुन्छ । गाली गरेको भनिरहँदा उहाँले कस्तो शब्द प्रयोग गर्नुभएको थियो, त्यसमा जाउँ न । उहाँले कुनै अपाच्य वा अपशब्द बोल्नुभएको थियो त ? बीबीसीको साझा सवालमा पनि उहाँले प्रश्न सोध्नेलाई ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्नुभएको थियो, कुनै अपशब्द त प्रयोग गर्नुभएको थिएन । त्यसो भन्दै गर्दा म उहाँको शैली ठीक हो भनिरहेको छैन । सकभर झोंक नदेखाउनु राम्रो हो ।
अपशब्द त प्रधानमन्त्रीले पनि कहाँ बोल्नुभएको छ र ? विपक्षीलाई झर्रो शब्दमा कटाक्ष गर्ने पनि त उहाँको शैली नै होला ।
अरिंगाल, नन्दीभृंगी, थला पार्छु, जस्ता शब्द सम्मानजनक हुन् ? प्रधानमन्त्री जस्तो गरिमामय पदमा भएको व्यक्तिमा शिष्टता हुनुपर्छ कि पर्दैन ? हाम्रो सभापति जंगिएर बोल्दा पनि खराब शब्द प्रयोग गर्नुहुन्न । प्रधानमन्त्रीज्यू मीठो लवजमा पनि तीतो शब्द प्रयोग गर्नुहुन्छ । शब्दमार्फत उहाँको प्रवृत्ति झल्किन्छ ।
प्रधानमन्त्रीले विपक्षी पार्टी र नेताहरुलाई कटाक्ष गर्ने त अरु देशमा पनि सामान्य नै मानिन्छ । अस्ति भारतमा चुनाव हुँदा मोदी र राहुल गान्धीबीच व्यक्तिगत स्तरमै कडा आरोप प्रत्यारोप भयो । तर, त्यहाँ मोदीको आलोचना भएन । नेपालमा चैं प्रधानमन्त्रीले केही बोल्नासाथ किन ज्वारभाटा आउँछ ?
विदेशका नेताहरुबाट हामीले राम्रो कुरा सिक्ने कि खराब कुरा सिक्ने त ? विदेशका नेताले नराम्रो बोल्नुभयो भनेर हामीले पनि त्यही सिको गर्ने ? हाम्रो प्रधानमन्त्रीले त अरु देशका नेताहरुका लागि आफू उदाहरण बनेर देखाउन सक्नुपर्छ । प्रधानमन्त्रीले अनावश्यक बोलिरहनुभन्दा चुपचाप काम गर्नु राम्रो हो । हामी इतिहासकै सुन्दर घडीमा छौं ।
प्रधानमन्त्रीसँग इतिहास रच्नका लागि सबै अनुकुलताहरु छन् । दुई तिहाईको सरकार छ । मित्रवत प्रतिपक्षी छ । संबिधान बनेको छ । यो अवसरलाई सदुपयोग गर्नुपर्छ । प्रतिपक्षी दलको प्रवक्ता भन्दै छ कि यो अवसरको सदुपयोग गर्नुस, हामी सहयोग गर्न तयार छौं ।
मुखले त भन्नुभयो, तर सरकार बनेयता अहिलेसम्म रचनात्मक प्रतिपक्षको रुपमा सरकारको कुनै काममा समर्थन जनाएको वा सहयोगी भूमिका खेलेको रेकर्ड छ ?
किन छैन ? अघिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भइरहँदा कांग्रेसको फेसबुक पेजमा यो सकारात्मक छ भनेर लेखिएको अहिले पनि भेट्नुहुन्छ । तर, त्यो कार्यक्रमले पनि परिणाम त दिएन । ३ अर्ब १० करोड बजेट छुट्याइएको थियो, त्यसको १ प्रतिशत पनि खर्च हुन सकेको छैन । खर्च भएको पनि उत्पादनमूलक कार्यमा छैन । परिणाम नदिएपछि हामीले कसरी समर्थन गरिरहने ?
रचनात्मक प्रतिपक्ष भनेको आखिर के हो ? तपाईंले ४८ सालमा कांग्रेसको एकलौटी सरकार बनेपछिको डेढ वर्ष र यसपाली कम्युनिष्टको डेढ वर्षको अवधिमा प्रतिपक्षी भूमिकालाई तुलना गरेर हेर्नुस न ? त्यतिबेला कति बन्द–हड्ताल भएका थिए ? कति रेलिङ तोडिएका थिए ? अहिले केही भएको छ ? कांग्रेसले त कुनै बन्द हड्ताल गरेको छैन ।
सडकमा नआए पनि संसद त बारम्बार बन्द गराउनुभएको छ नि ।
संसदभित्र उभिएर फरक मत राख्नु संसदीय मर्यादाभन्दा बाहिरको कुरा होइन । संसदीय व्यवस्थामा यस्तो सामान्य हो । कुनै कुराको सुनुवाइ होस, देशको ध्यान तानियोस, सरकारलाई दवाव पुगोस भन्नका खातिर संसदभित्र कुर्सीबाट उभिएर असहमति राख्ने चलन सबैतिर छ । यदि संसदभित्र असंसदीय व्यवहार वा उद्दण्डता देखिएको छ भने त्यसलाई सच्याउन तयार छौं ।
कांग्रेस भन्नेबित्तिकै अहिले विश्वप्रकाश र गगन थापाको नाम मात्रै अगाडि आउँछ । सभापतिलाई समेत आफूहरुले ओझेलमा पारेको छु भन्ने कत्तिको खुशी लाग्छ ?
प्रवक्ता भनेको सञ्चारमाध्यममा आइरहनुपर्ने भएकाले हाइलाइट हुनु स्वभाविक नै हो । गगन थापाले पनि संसदभित्र र बाहिर प्रखर भूमिका निभाइरहँदा उहाँको चर्चा हुनु स्वभाविक हो ।