सिंहदरबारको शक्तिलाई शीतलनिवास बसेर रोक्न पाइँदैन

सिंहदरबारको शक्तिलाई शीतलनिवास बसेर रोक्न पाइँदैन

फागुन १४, २०७४ रातोपार्टी अनलाइन पत्रिका 

संसदीय  दलको नेतामा सर्वसम्मतको सम्भावना टर्यो है ?
नेपाली काँग्रेसको शनिबार  प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको बैठकले कार्यसमिति, संसदीय दलको नेता चयनका विषयमा प्रवेश गर्नका लागि बैठक बस्यो । प्रतिनिधि, राष्ट्रिय र प्रदेश सदस्यहरूको पहिलो बैठक थियो । पारित गरेको मस्यौदालाई आइतबार केन्द्रीय समितिले अनुमोदन गर्यो । अनुमोदनको  लगत्तै केन्द्रीय समितिले तीन सदस्यीय समिति पनि बनाएको छ । त्यो निर्वाचन समितिले निर्वाचनसम्बन्धी कार्यतालिका छिट्टै प्रकाशित गर्छ र सांसदहरूको पदको शपथ गरिसकेपछि समितिले निर्वाचन गर्न वा कसैलाई बनाउन सक्नुहुनेछ । सांसद पदको शपथग्रहण हुँदैछ, त्यसको लगत्तै संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुन्छ ।
 
केन्द्रीय समितिको बैठकमा चर्काचर्की हुँदै आएको छ । सभापति संसदीय दलको नेता बन्ने बाटो कठिन हुँदै गएको हो ?
बडो हार्दिकतापूर्वक बैठक सुरु हुँदै आएको छ । हार्दिकतापूर्वक नै सम्पन्न भएको छ । बैठकमा कुनै पनि केन्द्रीय सदस्यको तिक्ततापूर्ण अभिव्यक्ति आएन । अहिलेको विषयलाई हार्दिकतापूर्वक सम्पन्न गरेर जानुपर्छ भन्ने  कुरा राख्नुभएको छ । संसदीय दलको नेता चयन गर्दैगर्दा सर्वसम्मतको प्रक्रिया सकेसम्म खोज्नुपर्छ । व्यक्ति चयनमा सर्वसम्मति भएन भने विधिका लागि सर्वसम्मतिमा जानुपर्छ । विधि वा निर्वाचन  मार्फत  नेतृत्व चयन हुन्छ भन्नेमा सबैको एकमत छ । अघिल्लो प्रक्रिया पनि सोही बमोजिम हुनेछ ।
 
काँग्रेस सबै प्रदेशमा तथा केन्द्रमा प्रमुख प्रतिपक्ष दलका रूपमा रहने निश्चित भएको छ । वर्तमानमा काँग्रेस कुन अवस्थामा छ भन्ने लाग्छ तपाईंलाई ?
काँग्रेस पार्टी स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गराएको दल हो । लामो सङ्क्रमणकाल अन्त्य गराएको, आफ्नो नेतृत्वमा  संविधान सम्पन्न गराएको एउटा गौरवपूर्ण क्षणमा पनि छ ।
तर, सँगसँगै राष्ट्रव्यापी रूपमा पराजित भएको पनि छ । त्यसकारण नेपाली काँग्रेस पार्टी गौरव र गम्भीरताबाट नयाँ जीवन खोज्ने क्रममा छ । नयाँ ढङ्गले अघि बढ्ने यात्राको क्रममा छ ।
 
विगतमा असल र खराब दुवै पक्षमा सत्ता पक्षको प्रतिपक्षले विरोध गर्ने परम्परा थियो । अब पनि जनताले उस्तै प्रतिपक्ष देख्छन कि फरक पाउँछन् ?
काँग्रेसले प्रतिपक्षमा  सिर्जनात्मक र उचित भूमिका निर्वाह गर्ने अवसर पाएको छ । लोकतन्त्र समृद्ध बन्नका लागि सत्तापक्ष मात्रै जिम्मेवार भएर पुग्दैन ।  प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार र परिपक्व भई हार्दिक रूपमा प्रस्तुत हुनु जरुरी छ ।

विगतमा प्रतिपक्षको भूमिका जुन रूपमा प्रस्तुत भयो वा देखियो त्योभन्दा भिन्न ढङ्गले कसरी सिर्जनात्मक, सहयोगी बनाउने र कसरी विनम्र बनाउनेमा केन्द्रित हुनुपर्छ । सँगै विनम्रको अर्थ  संविधानको मर्मभन्दा भिन्न काम हुन्छ, लोकतन्त्रलाई असर पर्ने खालका गतिविधिहरू हुन्छन् भने त्यो बेला विनम्र होइन, बुलन्द ढङ्गले प्रस्तुत हुने कुरामा काँग्रेस लाग्छ । मुलुकलाई अगाडि बढाउने सदर्भमा, दिगो शान्तिको सन्दर्भमा, समृद्धिका लागि बुलन्द भूमिका गरेर जान्छ ।
 
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको शनिबारको वैठकबाट छायाँ सरकारको अवधारणा अएको थियो । बुलुन्द भूमिका हुनु भनेको छायाँ सरकार मार्फत हो ?
संसदीय अभ्यास गरिरहेका कतिपय मुलुकमा छायाँ सरकारको प्रचलन छ । हामीकहाँ पनि ०४६ साललगत्तै ०४८ मा बनेका सरकारका लागि एमालेले छायाँ सरकारको अभ्यास गरेको थियो । संसदीय परिपाटीलाई समुन्नत बनाउनका लागि हो । सरकारले प्याकेजमा काम गरेको हुँदैन । अंश अंशको रूपमा कार्य गरिरहेको हुन्छ । फरक फरक मन्त्रालयका कामलाई हेर्दै गर्दा कुन रूपमा सहयोगी हुन सकिन्छ वा वाच डगको भूमिकामा हुन सकिन्छ । साथै कुन सन्दर्भमा विरोधीको भूमिकामा प्रखर हुने विषयको एक खालको कार्य विभाजन हो– छायाँ सरकार ।
छायाँ सरकार  समानान्तर सरकार भने जस्तो होइन । गृह, रक्षा, परराष्ट्र, सञ्चारलगायत जुनसुकै मन्त्रालय किन नहोस् काँग्रेसको कुनै नेताले हेर्छन् । हेर्ने कुराको सुन्दर तरिकाले व्यवस्थापन नै छायाँ सरकार हो ।

प्रारम्भिक रूपमा सरकारप्रतिको टिप्पणीमा नेपाली काँग्रेस सकरात्मक देखिँदैन  ओली सरकारको सुरुवाती चरणलाई सुखद रूपमा लिनुभएन है?
सम्मानित राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा २ को अनुसार आफ्नो अधिकार र कर्तव्य पालना गर्दैगर्दा मन्त्री परिषद्को सल्लाह र सहमतिमा हुनेछ भनिएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसको आधारमा गर्ने भनिएको छ । त्यो बमोजिम उहाँको कर्म भयो कि भएन त ? कानुनको पालना भएको देखिएन ।

जुन रङको भए पनि विगत वा वर्तमान किन नहोस्, सरकार त हो । सरकार रहेको क्षणसम्म सरकारको सिफारिस राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन । निर्वाचन प्रयोजनको लागि गठन भएको सरकारले  संविधानको धारा ८६  बमोजिम ५६ जनालाई निर्वाचित बनाएको सरकार हो । त्यही धाराको ख अनुसार सरकारले सिफारिस गरेका तीन जना व्यावहारिक र संवैधानिक रूपमा सही थियो । राष्ट्रपतिको काम कर्तव्य अधिकार उल्लेख भएको धारा ६६ को उपधारा २ अनुसारको कर्म गर्नु भएन । त्यसलै त्यो संविधानको ठाडो उल्लङ्घन भयो ।

दुई भिन्न सरकारलाई दुई भिन्न चस्माले हेरियो । हामीले नारायणहिटीमा भएको शक्तिलाई सिंहदरबारमा ल्याएको हो । सिंहदरबारको शक्तिलाई शितलनिवास बसेर रोक्न पाइँदैन । शितलनिवासमा शितल मनोविज्ञान जरुरी हुन्छ । संविधानको पालना गराउने भनेको संविधानको उल्लङ्घन होइन । फरक फरक सरकारलाई भिन्न भिन्न नजरले हेर्ने राष्ट्रपतिको कदमविरुद्ध उभिएका छौँ ।
 
राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक तथा कानुनी उपचार खोज्दै नेपाली काँग्रेसको विरोध जारी राख्ने हो ?
हाम्रो दलले सामान्यतया नैतिक बललाई नै जोड दिन्छ । निरङ्कुश शासन प्रणाली भएको बेला जस्तो सडकमा जाने समय होइन । लाखको जुलुस निस्केको राज्यले सुन्ने तर सही माग राखेको अवस्थामा एक व्यक्तिको माग  नसुन्ने भन्ने हुँदैन । हाल नेपाली काँग्रेसले नैतिक रूपमा विरोध गरेको छ । केन्द्रिय समिति, सांसदले विरोध गरेका छन् । भातृ संस्थाहरूले पत्रकार सम्मेलन गरी विरोध गरेका छन् । नेविसङ्घ र तरुण दलले सडकमै विरोध गरेका छन् । संविधान पढ्नका लागि तरुण दलले राष्ट्रपतिलाई संविधानको पुस्तक बुझाएको छ । राष्ट्रपतिको कदमको विरुद्धमा पार्लियामेन्टमा पनि यो विषय पुग्छ ।
 
निर्वाचन सकिएलगत्तै निर्वाचनको समीक्षाका लागि अन्य युवाहरूसँग मिलेर सभापतिमाथि दबाब बढाउनुभएको थियो । प्रवक्ता भइसकेपछि तपाईंको आवाज कम हुँदै गएको भनिन्छ । किन ?
बिल्कुलै होइन । काँग्रेसमा हिजो, आज र भोलि पनि रहन्छु । मेलमिलापको दिवसको दिन केही साथीले विज्ञप्ति निकालियो । त्यो अलग्गै गुट स्थापना गरेको होइन नि । काँग्रेसमा गुट धेरै बने संयोजन गर्नपर्छ भन्दा एउटा गुट लिएर उभिनु त पर्दैन नि । जहाँबाट विज्ञप्ती दिइयो त्यही स्थानमा हुनुपर्छ, पार्टीको केन्द्रीय कार्यालय पुग्न नहुने भन्ने पनि होइन । त्यस बेलाको धारणा काँग्रेस रूपान्तरित भएर जानुपर्छ भन्ने थियो । काँग्रेसका युवाहरूको केन्द्रीय समितिमा बढोत्तरी भयो भने रूपान्तरण त्यो पनि हो । विश्व प्रकाशको उपस्थितिलाई पनि त्यही रूपमा बुझ्नुपर्यो । बाहिर बसेर प्रश्न मात्रै गरिरहने कुराले बल पुग्छ कि उत्तरहरूको खोजी गर्ने कुराले बल पुग्छ ?  हिजो प्रश्न गर्ने स्थानमा थिएँ । रूपान्तरणलाई बल पुर्याउने ठाउँमा छु । ठाउँठाउँमा युवा, विद्यार्थी, बुद्धिजीवीको छलफल हुनु स्वाभाविक हो । ठाउँ ठाउँमा भएका भेलाले दिएको ऊर्जाले केन्द्रीय समितिले साझा निष्कर्ष निकाल्छ ।
 
प्रजातन्त्र दिवसको दिनदेखि नेताहरू चन्द्र भण्डारी र गगन थापाको एक समूह र अर्कोतिर नवीन्द्रराज जोशीको पहलमा काँग्रेस पुनर्जागरणको अभियान सुरु भएको छ । यस विषयमा काँग्रेसको धारणा के छ ?
चन्द्र भण्डारी, नवीन्द्रराज जोशीको नेतृत्वमा सुरु भएको पुनर्जागरण अभियन होस् वा मोरङका विमल सङ्ग्रौलाको अर्को अभियान किन नहोस् । जिल्ला सभापतिहरूले भक्तपुर वा हलेसीमा गरेको भेला, सबैको सकरात्मक रूपमा  स्वामित्व लिनुपर्छ । केन्द्रीय समितिले सुझावहरूलाई व्यवस्थित बनाएर जान्छ, जानुपर्छ । केन्द्रीय समितिलाई ती सुझावहरूले ऊर्जा दिन्छ ।
 
स्थानीय तह र केन्द्रीय तह यसअघि पनि सञ्चालनमा थिए । प्रदेश सरकार भने नितान्त नौलो प्रयोग हुँदैछ । काँग्रेसका प्रदेश सदस्यहरूको भूमिका कस्तो हुनुपर्छ ?

प्रदेशको प्रयोग नेपालमा पहिलो पटक भएको छ । सङ्घीयतामा भर्खर प्रवेश गरेका छौँ । थुप्रै व्यावहारिक राजनीतिक जटिलताहरूको साथमा आर्थिक जटिलता त झनै आउँछ । प्रदेश सदस्यहरूले दलगत आस्था त छँदै छ । त्यसको साथमा समग्र आफ्नो प्रदेशको हित कसरी हुनसक्छ, राजनीतिक सहकार्यबाट प्रदेशका समस्या हल गर्न सकिन्छ, सोच्नुपर्छ । भिन्नभिन्न प्रदेशमा भिन्नभिन्न अवस्थाहरू छन् । त्यही अनुरूपको सहजता वा जटिलता पनि छन् । नेपाली काँग्रेसका प्रदेश सदस्यहरूले समृद्धिका लागि प्रदेश सरकारलाई सकरात्मक दबाब दिनुपर्छ । 
 
पुनर्जागृत गराउनका लागि काँग्रेस सदस्यहरूले अब गर्नुपर्ने कामहरू केके देख्नुहुन्छ ?
प्रत्येकले म बदलिन्छु भन्ने सङ्कल्प लिनुपर्छ । म, हामी हुँदै हाम्रो काँग्रेस बदल्छौँ भनी सङ्कल्प लिनुपर्छ । मैले राखिरहेका कुरा मात्रै अन्तिम सही हो भन्ने मानसिकता लिनुहुँदैन । रूपान्तरण चाहने म मात्रै हो र अरू छेक्न चाहन्छन् भन्ने सोच राख्नु गलत हो ।

निर्वाचनपछि उज्यालो अनुहार बनाउन कुनै शुभेच्छुकले सकेन भने त्यो गलत हुन्छ । त्यो काँग्रेस नै होइन । तीन तहको निर्वाचन भएको छ, सङ्क्रमणकाल काँग्रेसकै नेतृत्वमा अन्त्य भएको छ । संविधान बनाउने र कार्यान्वयन नेपाली काँग्रेसको नेतृत्वमा भएको छ । गौरवलाई पनि सार्वजनिक गरेर जानुपर्छ ।

अर्कोतर्फ निर्वाचनमा हारिएको छ । त्यसकारण रूपान्तरणको जरुरी छ । कुनैले काँग्रेसको रूपान्तरण जरुरी छैन भन्छ भने त्यो पनि काँग्रेस होइन । काँग्रेसका रूपान्तरण काँग्रेसका लागि मात्रै होइन, लोकतन्त्रलाई पनि हो ।