भूकम्प आजभोलि नै आउँदै छ भनेर पूर्वानुमान नहुँदा हामीले जनधनको ठूलो क्षति ब्यहोर्यौँ, २०७२ वैशाखमा । भूकम्प सामना गर्ने बलियो पूर्वतयारीमा हामी थिएनौं । कोरोना भाइरस अर्थात् कोभिड–१९ लाई सामना गर्न भने हामीले सूचना समयमै पाएका छौं र पर्याप्त समय पनि । तर समयको सदुपयोग के हामी गरिरहेका छौं ?
कोरोना प्रवेशलाई नाकामै रोक्न सक्ने संयन्त्र यसबीच विकसित गर्यौँ ? संक्रमण भित्रिए व्यवस्थित र प्रभावी ढंगले सामना गर्न हामीले प्राविधिक बन्दोबस्त, मानवीय दक्षता र मनोवैज्ञानिक तयारी गरिसक्यौं ? जवाफ सकारात्मक आउन्न, बरु सम्झनामा आउँछ भूपी शेरचनको ‘हामी’ माथि व्यंग्य गरिएको बेजोड कविता ।
सरकारलाई साथ पनि दबाब पनि
‘हामी वीर छौं तर बुद्धु छौँ, हामी बुद्धु छौँ र त हामी वीर छौँ … ।’ भूपीका यी पंक्ति सायद आजका दिन जस्तै दिनहरूको प्रवृत्ति–जगमा कोरिएका थिए । जस्तो कि, कोरोना सामना गर्न युद्ध स्तरमा तयारी गर्नुपर्ने कैयन् महत्त्वपूर्ण दिनलाई यसबीच हामीले ‘कोरोना फ्री जोन’ को रमाइलो कथा हालेर हलुकैसँग बिदाइ गर्यौं । विश्व स्वास्थ्य संगठनले उच्च जोखिमको राष्ट्रमा सूचीकृत गरेपछि थर्मामिटर लिएर विमानस्थलमा त बस्यौं ! तर हामी जान्दथ्यौं, एक छिनको तातो नापेर संक्रमण छेकिने भए युरोप र अमेरिकाको भिसा कोरोनाले सात जन्मसम्म पाउने थिएन । उता यसले अफ्रिकासम्म साम्राज्य विस्तार गरिसक्यो, यता हामी अझै कच्चा तयारी छलफलमा छौं । कुनै स्थलमार्गले नै पनि कुनै दिन थला पार्न सक्छ हामीलाई, तर सिंहदरबारको बार्दलीबाट संक्रमण अझै देखिएको छैन सिमानामा ।
वुहानका १७४ नेपालीको उद्धार गरेर सरकारले जिम्मेवारी निभायो । तर तिनलाई क्वारेन्टाइनमा राखिएको दुई सातामा त्यही विमानस्थलको बाटो भएर ४ हजारभन्दा बढी मानिसलाई हामीले काठमाडौंमा मिसिन सरक्क दियौं । सम्मानित सर्वोच्च अदालतले फागुन १९ मा ‘संक्रमण फैलिएका केही मुलुकसँग दोहोरो उडान केही दिन या महिनाका लागि रोक्नू’ भनी देशको नाम किटान गरेर सरकारका नाममा अन्तरिम आदेश जारी गर्यो, तर त्यही साँझ वाइड बडीमा सवार भएर सरकार जापानको नारिता उड्यो । यी पंक्ति लेखिरहँदा (चैत १ गते) पनि त्यस्ता केही देशमा दोहोरो उडान जारी छ, अनि सरकार गम्भीर छ भन्ने मन्तव्य पनि जारी छ ।
‘यो त भगवान् पशुपतिनाथकै कृपा हो, संसारका आधा देशमा पुगिसक्दा पनि कोरोनाले नेपालमा पाउकष्ट गरेको छैन । संक्रमण प्रवेशपछि एक्कासि त्यसले ठूलो आकार लियो भने हाम्रो पूरै ‘सिस्टम’ अस्तव्यस्त हुन सक्छ ।’
भूपीको व्यंग्यात्मक कविताले गम्भीर बनाउनुपर्छ हामीलाई । किनकि प्राणघातक कोरोनाको जोखिम सामना गर्न हरेक राष्ट्रसामु केवल दुइटा प्रक्रिया छन् । संक्रमण भित्रिनबाट रोक्न सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्ने र संक्रमण भित्रिए संयम र सतर्कतासाथ सामना गर्ने । यी दुइटै प्रक्रियामा एकातर्फ सरकारलाई सबैले साथ दिन, अर्कातर्फ कमजोरीहरू तत्काल अन्त्य गर्नका लागि घचघच्याउन र दबाब दिन जरुरी छ । यस क्रममा अब हरेक दिन हाम्रो तयारी, गम्भीरता र कार्यान्वयन स्थितिको वस्तुगत समीक्षा जरुरी छ ।
काम गर्ने कि काम हेर्ने ?
हाम्रो पूर्वतयारी र सतर्कताको स्थिति समीक्षा गरिरहँदा बाँकी विश्वको स्थिति र जोखिम सामना गर्न तिनले देखाएको तदारुकतालाई पृष्ठभूमिमा स्मरण गरौँ । चीनमा कोरोना क्रमशः नियन्त्रणमा आउँदै छ । त्यहाँको सरकार र स्वास्थ्यकर्मीहरूको कठोर साधना प्रशंसनीय छ । दोस्रो बढी संक्रमित देश इटालीमा भने ६ करोड मानिस ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुका बावजुद एकै दिन २५० जनासम्मको मृत्य भएको छ । इरानमा ‘छापामार शैलीमा’ कोरोना प्रकट हुँदा उच्चपदस्थ संक्रमित भेटिए । त्यहाँ संक्रमणबाट सुरक्षाका लागि ५४ हजार कैदीलाई जेलमुक्त गरेर अस्थायी रूपले घर पठाइएको छ । अमेरिकाले दुईचारमा संक्रमण देखिइसक्दा बेलायतबाहेक सबै युरोपेली उडानमा रोक लगायो र त्यसको केही दिनमा राष्ट्रिय संकटकाल नै घोषणा गर्यो । उत्तर कोरियामा कूटनीतिज्ञ र भेटिएसम्मका विदेशीलाई क्वारेन्टाइनमा राखियो । छिमेकी भारतले अप्रिल मध्यसम्मका लागि सबै देशका नागरिकको प्रवेशाज्ञा रोकेको छ । १४ देशका यात्रुमाथि कतारले प्रवेश रोक लगाएको छ, जसमध्ये नेपाल पनि पर्छ ।
जापानमा एउटा पानीजहाजमा एक यात्रुको मृत्यु र केहीमा संक्रमण देखिएपछि २५ सय यात्रुसहित सिंगो जहाजलाई क्वारेन्टाइनमा परिणत गरेर दुई सातासम्म राखियो । चीनले त १ हजार शय्याको आपत्कालीन अस्पताल केवल दुई दिनमा निर्माण गरेको समाचार पुरानै भइसक्यो । भुटानमा एक अमेरिकी पर्यटकमा संक्रमण देखिँदा राज्यले आपत्कालीन तदारुकता देखायो, प्रधानमन्त्रीदेखि राजासम्मले क्रियाशीलता देखाए । जोखिमसँग जुध्न धेरै देशले दक्ष जनशक्तिलाई थप प्रशिक्षित गरेर तम्तयार राखेका छन् र आपत्सँग जुध्न अर्बौं डलर छुट्याएका छन् । उनीहरू व्यापकसँग काम गरिरहेका छन् र हामी तिनका समाचार व्यापकसँग पढिरहेका छौँ ।
हेक्का राखौं, भूकम्पको बेलाझैं अनेक राष्ट्रका सहयोगी हातहरू नजुट्न सक्छन् । किनकि कोरोना संकटसँग ती पनि जुधिरहेका छन् आफ्नै आँगनमा । हामी नेपालीले नै संयम र एकतासाथ यो जोखिम पार गर्नु छ ।
नेपालका सञ्चारमाध्यम सरकारको ‘एक्सन’ छाप्न र सम्प्रेषण गर्न प्रतीक्षारत छन् । तर सरकारले एक्सन होइन, बल्ल ‘एक्सन प्लान’ सुनाएको छ देशलाई । विश्व स्वास्थ्य संगठनले ११ मार्चमा महामारी नै घोषित गरिसकेको स्थितिमा अब हामीसँग भरे–भोलि भन्ने सुविधा छैन । केवल झाडापखालाले दर्जनौंको प्राण एकसाथ जाने गरेको मुलुकमा प्राणघातक कोरोनाबाट एकएक जीवनरक्षाका लागि हामी गम्भीर छौं कि खुद्रा होइन थोकमा मृत्यु हेर्न अभिशप्त हुन लाग्दै छौं ? सरकार अब गम्भीरताको सैद्धान्तिक चरणबाट माथि उठेर जोखिम सामना गर्ने व्यावहारिक रणनीतिहरूको विज्ञापन होइन, कार्यान्वयनमा गम्भीर ढंगले तत्काल लाग्नुपर्छ ।
‘डिफेन्स कोभिड’ कि ‘डिफ्युज कोभिड’ ?
हाम्रो अर्थतन्त्रलाई अनेक प्रतिकूलतामा भरथेग गर्दै आएको रेमिटान्सको आप्रवाहमा ‘कोभिड इफेक्ट’ ले कुन आकारसम्म चुनौती थप्ला, अहिल्यै भन्न सकिन्न । तर वैकल्पिक सोचहरूलाई बढावा दिन हाम्रो ध्यान अब पुग्न जरुरी छ । समाजका अनेक क्षेत्रमा पर्ने असर न्यून गर्न राज्यले विशेष रणनीति तर्जुमा गर्नुपर्छ । हुन त सरकारले तत्काल गर्नुपर्ने दुइटा काम छन्, दिन–प्रतिदिन त्यसमा ढिलाइ भइरहेको छ, तर अपेक्षा राखौं, सरकार अब तत्काल एक्सनमा ओर्लनेछ ।
संक्रमण प्रवेश रोक्ने पहिलो काम, अर्थात् ‘डिफेन्स’ । यसमा हामीले बढी नै लापरबाही गरिसकेका छौँ । यो त भगवान् पशुपतिनाथकै कृपा हो, संसारका आधा देशमा पुगिसक्दा पनि कोरोनाले नेपालमा पाउकष्ट गरेको छैन । संक्रमण प्रवेशपछि एक्कासि त्यसले ठूलो आकार लियो भने हाम्रो पूरै ‘सिस्टम’ अस्तव्यस्त हुन सक्छ । तर सीमानाकामा अझै पनि कामचलाउ गम्भीरतामै छौं हामी । कोरोनालाई सिमानामै रोक्न सम्पूर्ण कडाइ गर्नु सबैभन्दा बुद्धिमत्ता हुनेछ । हाम्रा लागि यो तुलनात्मक रूपले सजिलो, कम खर्चिलो र कम जोखिमयुक्त काम हो । निश्चित प्रवेश रोक्का, अत्यावश्यक परीक्षण र क्वारेन्टाइन बासको बन्दोबस्त । तीन तहका सरकारको समन्वयमा यी तीन काम गर्न अब ढिलाइ नगरौँ ।
सरकारले गर्नुपर्ने दोस्रो काम हो— संक्रमण भित्रिए कोरोनाको भाइरस आक्रमणलाई ‘डिफ्युज’ कसरी गर्ने । संक्रमण केही मानिसमा पत्ता लाग्नासाथ कठोरतापूर्वक नियन्त्रण गर्ने रणनीति जरुरी छ । एकबाट अनेकमा फैलिएर अरू देशमा झैं आपत्कालीन स्थिति सिर्जना हुन नदिनु हाम्रो दोस्रो बुद्धिमता हुनेछ । संक्रमणसँग जुध्ने मूलतः स्वास्थ्यकर्मीले हो । मिसन ‘डिफ्युज कोभिड’ का लागि विशेष मिसन टोलीको निर्माण सरकारले अहिल्यै गरिराख्नु व्यावहारिक हुनेछ । त्यस्तो दक्ष जनशक्तिलाई पनि विशेष प्रशिक्षण र विशेष प्रोत्साहनसाथ जोखिमसँग जुध्न ‘मिलिट्यान्ट’ राख्नु राज्यको दायित्व हो ।
नागरिकलाई आज मास्कसमेत अभाव भयो ! भोलि स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को पर्याप्त जोहो गरियो यो साता ? गरिएन । आइसोलेसन वार्ड यो साता नयाँ थपिए ? थपिएनन् । अत्यावश्यक आईसीयुहरूको आपत्कालीन बन्दोबस्त गरियो ? गरिएन । चौधदिने क्वारेन्टाइन डाँडाकाँडामा कहीँ अरू जोडिए ? जोडिएनन् । सम्माननीय प्रधानमन्त्री भर्खर अस्पतालबाट फिर्नुभएको छ, उहाँलाई छोडौं ! बाँकी सरकार कहाँ छ ? ‘सेल्फ क्वारेन्टाइन’ मा ? नत्र नाकाको प्रवेशद्वारमा पनि गम्भीरता छैन अनि आगामी खतरासँग जुध्न पनि गति छैन भने सरकार छ कहाँ ?
हेक्का राखौं, भूकम्पको बेलाझैं अनेक राष्ट्रका सहयोगी हातहरू नजुट्न सक्छन् । किनकि कोरोना संकटसँग ती पनि जुधिरहेका छन् आफ्नै आँगनमा । हामी नेपालीले नै संयम र एकतासाथ यो जोखिम पार गर्नु छ । हामी गोर्खालीहरू बहादुर जरुर छौं, तर भूपीको व्यंग्यको सार ग्रहण गर्दै यो बुद्धिमत्ता प्रदर्शन गर्ने बेला हो कमरेड । सीमानाकाको कडाइ नै प्रमुख बुद्धिमत्ता र प्रमुख समाधान हो । संक्रमण भित्रिएका खण्डमा दृढतासाथ सामना गर्नु त छँदै छ ।