नेपालसँग सिकौं, नेपालीसँग झुकौं

नेपालसँग सिकौं, नेपालीसँग झुकौं

नेपाल र चीनका दुई सत्तारुढ कम्युनिस्ट पार्टीबीच लिखितममै ‘नयाँ सम्भावना’को ‘शिलान्यास’ भएपछि त्यसको नीति, नियत, सिद्धान्त अनि सम्भाव्य परिणामबारे गम्भीर विमर्श अझै हुनु आवश्यक छ । यद्यपि एक सैद्धान्तिक प्रश्नमा सुरुवातमै प्रस्ट होऔं, विश्वका कुनै पनि देशले अरु देशहरूसँग अनि एउटा देशभित्रको राजनीतिक दलले अर्को देशका राजनीतिक दलहरूसँग भाइचाराको सम्बन्ध राख्न सक्ने प्रचलन विश्वब्यापी नै छ । यसमा सोझै आपत्ति गरिहाल्न जरुरी हुन्न ।

तर यो सामान्य विषय तब सामान्य रहँदैन, जब त्यसमा राजनीतिक विचारधारा केन्द्रित अन्तरक्रिया र प्रशिक्षणको विषयले प्रवेश पाउँंछ । प्रशिक्षणको अर्थ प्रशिक्षित र दीक्षित गर्नु या हुनु हो ।

प्राप्त त्यो दीक्षाको लक्ष्य ‘बीआरआई’ लगानीको सुनिश्चितता सीमासम्म कि शास्त्रीय परिकल्पनाको एकदलीय मार्गचित्रको सुदूर लहडसम्म ? यो आशंकायुक्त प्रश्नको जवाफ आजको सचेत दुनियाँले खोज्नु स्वाभाविक किन छ भने दुवै कम्युनिस्ट पार्टी आआफ्नो मुलुकको सत्तामा छन् र तिनले अंगिकार गर्ने नीति र अघि सार्ने कार्यक्रमले तिनको पार्टीगत जीवनलाई मात्र होइन, सिंगो देशलाई सकारात्मक या नकारात्मक प्रभाव पर्छ । स्थिर शासन रहेको, समृद्धिको उचाइमा पुगेको र महाशक्तिका रूपमा विकसित भइरहेको चीनका लागि यसले कुनै फरक नपर्ला । तर हाम्रो मुलुक जो भर्खरै शान्ति, गणतन्त्र, नयाँ संविधान र संघीयतामा गएको छ ।

यस्तो समय खण्डमा हामीले वैदेशिक सम्बन्धदेखि आन्तरिक जटिलतासम्मका हरेक विषयमा परिपक्व ढंगले सोच्न, व्यावहारिक धारणा बनाउन र तार्किक निर्णयमा पुग्न गम्भीरता राखेनौं भने त्यसले नयाँ खाले जोखिम उत्पन्न गर्न सक्छ । नेकपाका मित्रहरूले यो संवेदनशीलता राखेर यस बारेमा आवश्यक पूर्वतयारी छलफल गर्नुभएको सुनिएन, देखिएन । त्यसैले यस बारेमा उत्पन्न प्रश्नहरूबारे उहाँहरूसँग जवाफका लागि जवाफ भेटिन सक्छन् । तर चित्तबुझ्दो प्रस्टीकरणको अभाव रहिरहनेछ ।

बाह्य सम्बन्धमा प्रभावको प्रश्न यस्ता प्रशिक्षणले हाम्रो देशको बाह्य सम्बन्धमा पर्नसक्ने असरबारे विवेचना गरिरहंँदा दुई पृष्ठभूमि स्मरण गरौँ । पहिलो, हामीले अख्तियार गर्दै आएको परराष्ट्र नीतिको आधार असंलग्नता र सन्तुलित भाइचाराको हो । यो कोणबाट विश्लेषण गर्दा सम्पन्न प्रशिक्षणको संगति हाम्रो नीतिसँग मिलेको विलकुलै देखिन्न । ‘एबीसी’ अर्थात अमेरिका, भारत र चीन यी तीनवटा राष्ट्र हाम्रो सन्दर्भमा एक ढंगले ओदानको स्वरूपमा छन् । ओदानको प्रकृति अनुरुपको सन्तुलन सामर्थ्य हाम्रो शासकीय योग्यताको परीक्षा पनि हो ।

दोस्रो, यी तीनवटै राष्ट्रको आआफ्नै रणनीतिक दृष्टि र अवधारणाहरू छन् । नेपाल त्यसको सहयोगी र सहयात्री बनोस् भन्ने अपेक्षा हुन सक्छन् । खासगरी विश्वको पहिलो र दोस्रो अर्थतन्त्र भएका मुलुक अमेरिका र चीन आजको मितिमा फरक प्रकृतिको द्वन्द्वमा छन् । अमेरिकाको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ र चीनको वेल्ट एन्ड रोड इनिसिएटिभ ‘बीआरआई’बारे विश्वव्यापी चर्चा र विश्लेषण विविध कोणबाट भइरहेका छन् । हाम्रो जस्तो भू–राजनीतिक संवेदनशीलता भएको मुलुकले यस्ता विशेष प्रस्तावनाहरूबाट लाभान्वित हुँदै गर्दा एकदमै पक्ष र एकदमै विपक्षमा होइन, नेपालको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थको पक्षपोषण कुन रूपमा र कहाँसम्म हुनसक्छ भन्ने कोणबाट हेर्न सक्नुपर्छ ।

जता मल्खु उतै ‘बल्खु’को केटाकेटीपनाले मुलुकको हित हुन्न । हाम्रा परराष्ट्र मन्त्रीको वासिंगटन यात्रापछि अमेरिकी विदेश मन्त्रालयले वक्तव्य जारी गरेर भन्यो— ‘नेपाल इन्डो प्यासिफिक स्ट्राटेजीमा आबद्ध हुन तयार भएको छ ।’ सत्तारुढ नेकपाका दोस्रा अध्यक्षको चिनियाँ विदेश मन्त्रीसँगको भेटपश्चात् बेइजिङले वक्तव्यमार्फत नै ‘नेपाल अमेरिकी स्ट्राटेजीको पक्षमा गएको छैन’ भन्यो । भित्री बैठकहरूमा हाम्राले दुई खाले विपरीत वचन नदिई नै अमेरिका र चीनले पालैसँग झुठो वक्तव्य दिएका हुन् ? उसो हो भने खोइ हाम्रो लिखित प्रस्टीकरण ?

सबै खाले राजनीतिक आग्रहभन्दा माथि उठेर मनन गरौं, सत्ताको दोहोरो चरित्रले प्रकारान्तरमा मुलुकको हित गर्दैन । तर त्यसो भनिरहँदा यसमा पनि प्रस्ट हौँ कि हामी कुनै निश्चित देशको छातामुनि बसेर आजको विश्व राजनीतिको जटिलताका बेला आफ्नो आँगनको शान्ति, स्थिरता र प्रगतिको यात्रालाई धरापमा पार्न सक्दैनौं । बरु हामीले आकांक्षा बोक्नुछ, आजको लोकतान्त्रिक बाटोबाट नवीन र समृद्ध समाजमा पुग्नेछौं, अनि कुनै दिन द्वन्द्वमा रहेका कैयन देशले बुद्धको बस्तीमा सगरमाथाको फेदीमा शान्ति वार्ता बसेर समाधान पहिल्याई फर्कनेछन् । आफै छाता बन्ने लक्ष्य राख्न सक्ने देशले निथ्रुक्क भएर कतै ओत लाग्न हतारो गर्नुहुन्न 

‘एब्स्ट्रयाक्ट’ राजनीतिक सन्देश !

दोस्रो प्रश्नमा प्रशिक्षणको राजनीतिक अभिप्राय र सन्देशबारे चर्चा गरौँ । प्रथमत:चीनसँग हामीले सिक्नुपर्ने के र हामीसँग चीनले सिक्न सक्ने के भन्ने प्रधान विषय त्यो कार्यक्रमको विषय–सूचीमै थिएन । बीआरआई मार्फत विश्वव्यापी प्रभाव विस्तार गरिरहँंदा ‘सी विचारधारा’ फैलाउन चीनले कार्यक्रममा समय लगानी गर्नु स्वाभाविक हो । तर सो कार्यक्रममार्फत हाम्राले सिक्न चाहेको र ग्रहण गर्न चाहेको के भन्ने विषय अझै अमूर्त छ । चीन, भारत या अन्य कुनै पनि देशको समृद्धिबाट लाभान्वित हुने हाम्रो उत्कट चाहना स्वाभाविक हो र त्यो हाम्रो साझा अभिष्ट पनि हो ।

तर त्यसका लागि राजनीतिक प्रशिक्षण होइन, सीप, ज्ञान, प्रविधिको अनुकरण जरुरी हुन्छ । लगानी उपयोगी नीति र वातावरणको खोजी जरुरी हुन्छ । राजनीतिक रूपमा सिक्नैपर्दा नेपालका कम्युनिस्टहरूले चिनियाँ कम्युनिस्ट पार्टीसँग सिक्नुपर्ने महत्त्वपूर्ण कुरा तिनले कसरी आफ्नै माटोका नायकहरूलाई ‘प्राधिकार’ मानेर शान र गौरवसाथ अघि बढेका छन् भन्ने हो । तिनले कहिल्यै पनि मार्क्स, स्टालिन, लेनिन आदिको फुर्को नाममा गाँसेर पार्टी बनाएनन् । मार्क्सवादको प्रयोग गरिरहँंदा आफ्नै माटोका माओत्सेतुङको विचारधाराको बलमा कम्युनिस्ट क्रान्ति सम्पन्न गरे । पछि चाउको खुलापन र देङको उदारीकरण हुँदै दुई वर्ष अघिको महाधिवेशनबाट ‘सी विचारधारा’ अँंगाले । तर नेपाली कम्युनिस्टहरूले नेपाली माटोका उपज नेतृत्वलाई पार्टीको नाममा, सिद्धान्तमा र शिरमा कहिल्यै बोकेनन् ।

बरु ‘अध्यक्ष माओ’ भन्ने भावना बोक्न तिनलाई किञ्चित लज्जा भएन र आफ्नै नेपाली अग्रज कम्युनिष्ट नेताहरूलाई गद्दार घोषणा गर्न तिनलाई गाह्रो लागेन । अढाई दशकअघि एउटा प्रकाश उदाएको थियो, मदन भण्डारीका रूपमा । एकदमै भिन्न विचार नभए पनि उहाँले अघि सारेको बहुदलीय जनवादको विचारले एउटा भावनात्मक आवेगको विजारोपण गरेको थियो । तर सी विचारधारा पढिरहँंदा खुला संसदीय प्रतिस्पर्धा स्वीकारिएको ‘मदन विचारधारा’ पढाउने आकांक्षा हाम्रा कमरेडहरूमा किन रहेन भने एक त बहुदलीय जनवादको ‘प्रथम बर्खान्त’ गत जेठ तीन गते पुगेको छ । अर्को अब एकदमै नवीन विचार भन्ने भ्रमको पट्टी कार्यकर्ताको आँखामा बाँध्न मदनप्रतिको भावनात्मक पुरानो स्मृतिलाई ती आँखाहरूबाट धोएर पखाल्नुछ ।

दुनियाँ नेपाल पढ्दैछ, तर हामीचैं ?

नेपाल देशलाई समुन्नत बनाउन हामीले बाँकी दुनियाँसँग अनेक ज्ञान ग्रहण गर्न अप्ठ्यारो मान्ने कुरै हुन्न । तर यस्तो जाँगर चलाइरहँंदा नेपालले आफूसँग केही नभए जस्तो हीनताबोध होइन, आफूसँग भएको अनुभव, ज्ञान र क्षमतालाई पनि चिन्नुपर्छ जसबाट बाँकी दुनियाँले केही लिंँदै आएको छ ।

विश्वको एउटा निश्चित आकारले बौद्ध दर्शनको पदचिन्ह पछ्याइरहंँदा दुनियाँको एउटा सानो देशको माटोको कणकणलाई तिनको मस्तिष्कले ढोगिरहेको हुन्छ । अनेक धर्मावलम्बी एकसाथ सद्भावपूर्वक रहेको र आपसमा रमाउनसकेको वीर गोर्खाली माटोको तथ्य अनेक देशका लागि प्रेरक छ । डेढ दशक यताकै कुरा गरौँ, एकातर्फ हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण, अर्कातर्फ संविधानसभाको विधिवत् प्रक्रियाबाट राजतन्त्र विदाइको रक्तहीन क्रान्ति र संविधानसभाबाटै नयां संविधान निर्माण । यसरी द्वन्द्व व्यवस्थापनका लागि ‘नेपालसँग सिकौं भनेर अध्ययन र ज्ञानका लागि दुनियाँको एक नवीन विश्वविद्यालय बन्न पुगेको छ, नेपाल’ ।

समृद्धिकै कुरा गर्दा पनि बाल र मातृ मृत्युदर घटाउन अन्य कैयौं मुलुकले भन्दा हामीले छोटो अवधिमा प्रगति गरेका छौं । औसत आयु बढेको छ । हिंसा र अस्थिरताका विचमा पनि बाटो, बिजुली, खानेपानी, सञ्चार, स्वास्थ र शिक्षाको क्षेत्रमा हामीले एकहदसम्म प्रगति गरेका छौं । यसले लाखौँ रोजगारी पनि सिर्जना भएको छ र आर्थिक वृद्धिदरमा योगदान पुगेको छ । अब शान्ति, संविधान र निर्वाचनपछिको आजको नेपालले संसारभरका लगानीकर्तालाई आकर्षित गरेर समृद्धिलाई गति दिनुछ । भ्रष्टाचार नियन्त्रण र शुसासनमार्फत नागरिकको हृदय गाँस्न जरुरी छ । अनि संविधानप्रति अपनत्व विस्तार गरेर नेपालीले नेपालीसँग झुक्न र नेपालीले नेपालीसँग सिक्न जरुरी छ । यस्तो आन्तरिक प्रशिक्षणमार्फत हामी एक भई उभिनसके अमेरिका, भारत, चीन अनि अरु थुप्रै देश हाम्रो समृद्धिमा सहज सहयोगी हुनेछन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०८:२४ कान्तिपुर राष्ट्रिय दैनिक